आज माघे संक्रान्ति पर्व धुमधाम संग मनाईदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाएका छन् । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।
पश्चिम नवलपरासीमा पनि माघिको रौनक छ । नवलपरासीका थारु समुदायले परम्परागत हस्त सामग्रीको प्रदर्शनीसहित विभिन्न कार्यक्रम गरी माघी अर्थात खिचडी पर्व मनाएका छन् ।
थारु बाहुल्यता भएका जिल्लाका विभिन्न स्थानमा मेला र महोत्सवको आयोजना गरी थारु समुदायले यो पर्व मनाएका हुन् । जिल्लामा सबैभन्दा ठूलो मेला सरावलको मनरीमा लाग्दै आएको छ । मनरीमा रहेका श्रीराम युवा प्रतिष्ठान, मनरी टोल विकास समिति र थारु साँस्कृतिक पार्क सञ्चालक समितिको संयुक्त आयोजनामा भएको तीन दिने महोत्सवमा थारु सँस्कृति र परम्परागत सामग्रीको प्रदर्शनी राखिएको थियो । थारू संस्कृति भेषभूषा, रीतिरिवाज र परम्परागत समाग्रि हराउदै गईरहेका बेला पछिल्लो पुस्ता यसको संरक्षणमा लागेका हुन् । परम्परागत कला, संस्कृति, भेषभूषा, खानपान दैनिक जीवनमा प्रयोग गर्न नसके पनि केही वर्षयता थारू समुदायका युवा पुस्ताले मेला महोत्सवमार्फत संरक्षणको प्रयास गरेका छन् । महोत्सवमा नयाँ पुस्तालाई थारु समुदायका ईतिहासका विषयमा जानकारी गराउन विभिन्न भेषभुषा र परम्परागत सामाग्रिको प्रर्दशनी गरिएको आयोजक श्रीराम युवा प्रतिस्ष्ठानका पुर्व अध्यक्ष भेषनारायण चौधरीले जानकारी दिनुभयो ।
माघिमा थारु भेषभुषामा सजिएका सांस्कृतिक प्रस्तुती र विभिन्न सामाग्रि राखिएका थारु समुदायका परम्परागत घरमा दर्शक लोभिएका थिए । मौलिकता देखाउने खालको कार्यक्रम गर्ने प्रचलन बढेको हुँदा थारू समुदायको कला, संस्कृति र मौलिक लोकनाच संरक्षण भएको सरावल गाँउपालिकाका अध्यक्ष सुखाडी चौधरीले बताउनुभयो ।
महोत्सवमा सोमबार दिउसो सम्बोधन गर्दे प्रतिनिधि सभा सदस्य धुव्र बहादुर प्रधानले सरावलमा थारु सांस्कृतिक विकास केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । तिनै तहका सरकार संग समन्वय गरेर स्थानिय कला संस्कृतिको संरक्षणका लागी थारु सांस्कृतिक विकास केन्द्र बनाउने प्रधानको भनाई छ ।
स्थानिय युवाहरुको सक्रियतामा सरावलमा विगत १८ वर्ष देखि खिचडी महोत्सव हुदै आएको छ । यसअघि जनता मावि मनरीमा हुदै आएको खिचडी महोत्वसव यस बर्ष भने थारु साँस्कृतिक पार्कमा आयोजना गरिएको हो । महोत्सव भोली सम्म चल्ने श्रीराम युवा प्रतिष्ठानका अध्यक्ष चक्रमणी चौधरीले जानकारी दिनुभएको छ । जिल्लाका रामग्राम, पाल्हीनन्दन र बर्दघाटका विभिन्न स्थानमा पनि खिचडि महोत्सवको आयोजना गरि बिभिन्न कार्यक्रम भएका छन् ।