मधेस प्रदेशमा सत्तारुढ दलहरु बिचको अविश्वासका कारण मुख्यमन्त्री सरोज यादव दबाबमा पर्नुभएको छ । डा। सीके राउत नेतृत्वको जनमत पार्टीले समर्थन फिर्ता लिएर सरकार छाडेसँगै जनता समाजवादी पार्टी नेतृत्वको सरकार अप्ठ्यारोमा परेको हो । सत्ता साझेदार दल जनमतले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । जसअनुसार मधेसका मुख्यमन्त्री सरोज यादवले फागुन ९ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने हो । तर अहिलेसम्म मुख्यमन्त्री यादवले विश्वासको मत लिने समय निर्धारण भएको छैन ।
मुख्यमन्त्री यादवले विश्वासको मत कहिले लिने भन्ने बारे अझै टुङ्गो नलागेको बताउनुभयो । मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन त्यति सजिलो भने छैन । यसपटक एमाले, कांग्रेस, माओवादी केन्द्र, लोसपाले मुख्यमन्त्री यादवलाई सजिलै विश्वासको मत दिने वातावरण देखिएको छैन । जनमत पार्टीले सरकारबाट समर्थन नै फिर्ता लिइसकेको कारण विश्वासको मत दिने प्रसङ्ग नै आउँदैन ।
त्यस्तै, एमाले पनि प्रतिपक्षमा रहेका कारण विश्वासको मत दिने पक्षमा देखिएको छैन । कांग्रेस र माओवादी केन्द्रले पनि मुख्यमन्त्रीको दाबी गरिरहेका कारण यत्तिकै विश्वासको मत दिने कुरा हुँदैन । एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलले आफ्नो दल सरकार बनाउने, भत्काउने पक्षमा नरहेको बताए । आफ्नो दल प्रतिपक्षमा रहेका कारण सरकारलाई समर्थन दिनु र नदिनुमा कुनै अर्थ नरहने उहाँको भनाइ छ । उनले आफ्नो दलले सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी गरिरहेको समेत प्रस्ट पार्नुभयो ।
मुख्यमन्त्रीले विश्वासको मत मागेको अवस्थामा एमालेले दिने कि नदिने भन्ने त्यही दिन निर्धारण हुने पनि मण्डलले बताउनुभयो। कांग्रेसले आलोपालोको विषय नटुङ्गिएसम्म विश्वासको मत नदिने भन्दै आइरहेको छ । कांग्रेसका महामन्त्री गगन थापाले मधेस प्रदेश सरकारको नेतृत्व आलोपालोको विषय नटुङ्गिएसम्म विश्वासको मत दिने कुरा नआउने बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष एवं मधेस प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले आफ्नो पार्टी पनि मधेस सरकारमा आलोपालो नेतृत्वको पक्षमा रहेको बताउनुभयो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका संसदीय दलका नेता भरत साहले सरकार आलोपालोको विषय नटुङ्गिएसम्म मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत नदिइने बताउनुभयो । विगतमा आलोपालोमा मधेस प्रदेशको सरकार सञ्चालन हुने सहमति गरेको जसपा अहिले उक्त सहमति पालनामा इमानदार नदेखिएको भन्दै उनले यसपटक सबै कुराको टुङ्गो नलागेसम्म विश्वासको मत दिने पक्षमा सत्ता गठबन्धनकै दलहरु नरहेको बताउनुभयो । माघ २५ गते बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मधेस प्रदेशको सरकारको बारेमा छलफल भएको थियो ।